eadarsha.com
पोखरामा बुद्ध बाल घुम्ती पुस्तकालय
सबै जाति, वर्ग, सम्प्रदाय र लिङ्गका मानिसहरूको कल्याणले मात्र समाज, राष्ट्र र विश्वमा नै एकता र शान्ति कायम हुन सक्छ। वसुधैव कुटुम्वकम् (विश्व एक परिवार) को फराकिलो दर्शनलाई पछ्याउने सभ्य र सुसंस्कृत सामाजिक उत्तरदायित्वप्रति सचेत हामामात्चु नगरका जापानी नागरिकहरूको पहलमा सन् २००१ मा बुद्ध फाउन्डेशन जापान स्थापना भएको हो। यस संस्थाका सम्पूर्ण संस्थापक सदस्यहरू आ-आफ्ना पेशा र व्यवसायका क्षेत्रमा विशिष्टरूपले सफल हुनुका साथै समाज रूपान्तरणका लागि इमान्दारीपूर्वक दत्तचित्त भएर खटिएका छन्। व्यक्तिगत स्वार्थको चौघेराबाट माथि उठेर निस्वार्थ र उदार भावनाले सामाजिक सेवामा लागेका उनीहरूले जब नेपालको कास्की जिल्लामा आउँदा यहाँका गाउँवस्तीहरूमा गरिवीको जाँतोमा पिल्सिन बाध्य धेरै नेपाली दाजुभाइ दिदीबहिनीका दुःख दर्द आफ्नै आँखाले देखे, उनीहरू हात फुकाएर सेवा गर्न अगाडि बढे।