eadarsha.com
पद्मराज ढकालका गीत र कवितालाई कोट्टयाउँदा
गीत त्यो हो जसले पत्थरलाई पनि पगाल्छ र सङ्गीत त्यो हो जुन मनमस्तिष्कका पीडाहरूमा पनि शीतल मलम बन्ने गर्छ। हो, यो सम्पूर्ण विश्व नै गीत, सङ्गीत र कवितामय छ। झरी, बादल र बोट वृक्ष मिलेर एउटा लय उत्पन्न हुन्छ। आकाशबाट पृथ्वीका हरिया वृक्षका पातहरूमा पानी पर्दा जुन आवाज गुञ्जन्छ, त्यही देखे-सुनेर मानिसले ताली बजाउँदै नाच्न र गीत गाउन सिक्यो। झयाउँकिरीले नौथरी बाजा बजाउँदै कराउँदा पशुपंक्षी र मानवजातिलेसमेत कान ठाडा पार्न थाले। हावाले सङ्गीत उराल्दा मानिसले सुसेल्न सिक्यो। त्यही मन्द-मन्द हावाले प्रकृतिका फूलहरू हल्लिँदा चराहरूले पखेटा फुट्फटाएर पिरती गाँस्न थाले। लाग्दछ, यसरी नै यस्तै-यस्तै कारणले मानव हृदयमा गीत र सङ्गीतको जन्म भयो।